नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघ्यो


काठमाडौँ- कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नेपालमा एक लाख नाघेको छ । शुक्रबार देशभर थप दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ ।

स‌क्रमित मध्ये देशभर २७ हजार ५३ जना सक्रिय छन् । देशभर ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८७७ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् ।