कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ७ सय ३९ पुग्यो


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या नेपालमा ७ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको हो । यससँगै नेपालमा आइतबार कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । हालसम्म कुल १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा कोभिड १९ बाट निको भई घर फर्किनेको संख्या २ हजार ३ सय २६ रहेको छ । यससँगै आजसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको छ ।

आज देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् । आइसियुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।