नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुग्यो


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताउनुभएको हो । यससँगै देशरभर कुल सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । हालसमम कुल संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । देशभर संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १३ हजार ८ सय ५१ रहेको छ भने २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ३५ जना निको भएका छन् । यससँगै हालसम्म ९४ हजार ५ सय १ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार कोभिड १९ संक्रमण निको हुनेहरुको दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ जना व्यक्तिको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७ सय ५७ पुगेको छ ।

आज देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै २ सय ८२ जना आइसीयूमा उपचार भइराखेको छ । त्यसबाहेक देशभर ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो ।