मेरो सैनिक जीवन :- लेवनानका बारुद र गोलिको सम्झना !


 -बल बहादुर कार्की

देशको सेवा गर्ने सानै देखिको इच्छा अनुरुप नेपाली सेनामा भर्ना हुने सोच बनाए । २०४१ साल मंसिर महिनामा पोखराको फूलवारी व्यारेकमा भर्ना खुलेको थाहा पाँए। घर–परिवारको चाहाना देशको लागि मेरो छोराले केही न केही गरोस भन्ने पनि रहेकोले भर्ती छनोट प्रकृया अन्तर्गत अनेक विविध चरणहरु पार गर्दै अन्तत नेपाली सेनामा छनोट भए । 

करिव १ महिना पछाडी वुटवलमा तालिम सुरु हुने भएपछि नेपाली सेनामा छनोट भएको कुरा घर परिवारलाई खुशी साट्नको लागि म घरमा गए जसले गर्दा घरमा रहनु भएका बुबा आमा लगाएत आफन्तजनहरु पनि अत्याधिक खुसी हुनु भयो । २०४१ साल पौष १० गतेबाट तालिम सुरु हुने कुरा जानकारी भएपछि म बुटवल तालिम केन्द्र प्रस्थान गरे । सिभिल जीवन शैलिमा हुर्कीएको म सेनाको नियम कानुनमा बाधिन त्यति सजिलो त थिएन तर पनि निरन्तरको अभ्यास र गुरुको मार्ग निर्देशनमा विभिन्न कठिनाईहरु भोग्नु पर्यो।  तर पनि एउटा योग्य र इमान्दार सैनिक सिपाही बन्ने चाहानलाई ति कठिनाईहरुले जित्न सकेन ।

 नौ महिनाको तालिम पश्चात  कालिदल कम्पनीमा पोष्टीङ्ग भयो । सेनाको निती नियम अनुसार दैनिक गर्नुपर्ने कार्यहरु पि.टी,परेड र क्लासहरु सुरु हुदै गए । जति जनाले हात हल्लाउदा पनि एउटै चाल र जति जनाले गोडा हान्दा पनि एउटै आवाज एकताको विशेषता नै हो जस्तो लाग्यो । माथिल्लो दर्जाले सानो दर्जालाई गर्ने माया र सानो दर्जाले माथिल्लो दर्जालाई गर्ने सम्मानले नै यो संस्थाको इतिहासलाई र मर्यादालाई मजवुद बनाएको रहेछ भन्ने कुराको आभाष भयो। 

सैनिक जिवनमा रहदा आफूलाई पर्ने समस्याहरु त्यही भित्रबाट नै समाधान हुने भएकाले जागिरको अवधिमा कुनै समस्या आईपरेको भएमा यथासिघ्र समाधान हुने थिए । 

सेनाको नियमित तालिम अनुरुप योग्यता र दक्षता अनुसार कोर्षहरु गर्दै अति कडा मेहनेतका साथ लगनशिल भएर जिम्मेवारी पुरा गर्दै यस पवित्र संस्थामा सेवा गरेको १३ वर्ष वितेपछि विश्व शान्ति स्थापना गर्ने अवसरको लागि मलाई हवल्दार कोटामा लेवनान पठाउने नेपाली सेनाको निर्णयले म अत्यन्तै हर्षोविभोर भए । शान्ति स्थापनाको लागि आवश्यक तालिमको लागि काभ्रेको पाँच खाल तालिम केन्द्रमा ६ महिनाको तालिम पश्चात लेवनानमा हुने प्यालेष्टाइनीक लडाकु समूह हज्मुलाले त्यहाको जनाताहरुलाई दिने दुःख, कष्ठहरुबाट त्यहाँका जनताहरुलाई उद्धार एवम् आवश्यक सहयोग गर्नको लागि ६ सय जनाको सैन्य फौज त्यसतर्फ लागियो ।

 पहिलो विदेश यात्रा, अपरिचित व्यक्ति, अपरिचित ठाउँ यि विभिन्न कठिनका बाबजुत पनि द्वन्दग्रस्त त्यहाँका जनताहरुलाई उद्धार एवम् सहयोग गर्न खटिएको हाम्रो शान्ति सेनाको टोली निरन्तर प्रयासरत रह्यो । मिसनमा जादा आफन्त एवम् साथिभाईहरु खुसी नहुने त कुरै भएन तर वास्तवमा सोचाई र भोगाईमा निकै फरक पर्ने रहेछ । कयौं दिन दोहोरो बम वर्षा, गोली हानाहान तथा ठूला ठूला तोपको वर्षा हुन्थ्यो । आफन्त घर परिवार साथिभाई र आफ्नो जन्म भुमीको धेरै याद आउने समय सायद यही हो जस्तो लाग्यो । आफ्नो जन्म भूमिमा पुग्न पाईन्छ की पाइदैन भन्ने सम्मको सोचाई मनमा नआएको पनि हैन । त्यसैले विविध कारणले गर्दा सवैभन्दा महत्वपुर्ण साथी भनेको सैनिक साथी लाग्थ्यो ।

शान्ति सेनामा खटिएका हामी नेपाली सेना वाहेक १०, १५ देशका सेना इजरायल र लेवलानको वोडरमा तैनाथ हुन्थ्यो । लेवलानको इलाकाबाट लुकिछिपी प्यालेष्टाईनहरुले इजरायलतर्फ फायरिङ्ग गर्दा उताबाटको जवाफी हमलाले आकासमा बमको धुवा र धुलोले सन्नाटा छाउछ । फाइटर विमानबाट हमलाहुदा हाम्रो हेडक्याटरवाट सावधानका लागि घण्टी बजेपछि सवै आ–आफ्नो पोजिसनमा हुन्छौं । त्यतिबेला धन भन्ने कुरा ठूलो रहेनछ, आफ्नो जन्म भुमी, जन्म दिने बुबा आमा, परिवार इष्टमित्र साथिभाई नै जीवनका अन्नतसम्मका भोगाई हुन् भन्ने सोचमा परिदो रहेछ । शान्ति सेनामा जान पाउदा हाम्रो समाजले धेरै नै धनसम्पत्ति जोडीहाल्छ भन्ने सोच राखेको हुन्छ। तर यो त जीवन मरणको दोसाध पनि हुन सक्तोरहेछ भन्ने मेरो भोगाई रह्यो। के गर्ने त्यही पनि देशको र समग्र गोर्खालीको शान र मानको लागि पनि अग्रपङ्तिमा  रहेर दुश्मको निशाना बनिरहयौं ।

आएको पनि ६० दिन भईसकेको रहेछ घरमा फोन खबर गर्ने तिर ध्यान थिएन।  किनकी वम र गोलीको आवाजले मन भित्र अनेक कुराहरु खेलिरहन्थ्यो र कसरी आफू सुरक्षित हुने भन्ने तिर मात्र सोच हुनथाल्यो । पुग्ने वित्तिकै फोन गर्नुहै बाबु भन्नु भएको आमाको स्वर कता कता गुञ्जिराखेको आभास हुन्थ्यो। तर  तन र मन वम र वारुदमा रुमलिएको थियो । फोन गर्न धेरै टाढा जानु पर्ने रहेछ, विकासपछिको विनाशलाई आफ्नै आखाले राम्रो संग चित्रण गर्दै गोलि र वारुद लागेका वस्ती, घर यर्थातलाई ध्यानमा राख्दै, एक कल फोन गर्न हेडक्वाटरतर्फ लागे ।आमासंग कुरा गरे अनि प्रियसंग कुरा गर्न लाग्दा, आवाज आयो सन्चै छौं ? हजुर हामी यता  सन्चै छौं, त्यहाँत धेरै खतरा छ भन्छन् हजुर छिट्टै आउन मिल्दैन ? त्यसपछि उनको स्वाक्क, स्वाक्क र घ्वाक्क घ्वाक्क भन्दा कुनै प्रतिउत्तर पाउन सकिन। 

कयौं पटक बोलाईरहदा पनि उनि रोएको मात्र आवाज सुनिरहें । त्यसपछि बाबाले फोन लिनु भयो छोरा देशको लागि शान र मानको लागि निडर रहनु हामीले सवैको लागि परोपकार गरेका छौं। कसैलाई अधर्म गरेका छैनौं भगवान दाहिने हुनुहुन्छ । र तिमिले सेनामा सिकेको तालिम, अनुशासन र नियम कानुनलाई नर्विसनु तिमिलाई कुनै बम र गोला, अनि ग्रिरिनेटका चोईटा त के एक छेस्काले समेत कोर्तने छैन ।बुबाको यो साहासी शब्दले गर्दा बम र गोलाहरु पनि टाढा खसेको अनुभुति हुन थाल्यो। ताकी पहिले तिनै बम र गोलाहरु टाढा खस्दा पनि नजिकै खसेजस्तो लाग्थ्यो। 

हामीले ६ महिना पुरा गरी सकुसल नेपाल फिर्ता भयौं । सेनाबाट सिकेको ज्ञान, सहास, अनुशासनले गर्दा आज समाजमा सहज र सरल तरिकाले जीवन वितिरहेको छ । परिस्थितिले अहिले बिदेशमा रहेपनि सैनिक जीवन र देशको माटो प्रतिको श्रद्वा सदैव मनमा नै छ। हुन त मैले सैनिक जीवन द्वन्दकालमा पनि छोडिन। प्रक्रिया पुरा गरेर नै अवकाश लिए। सैनिक जीवन मेरो जीवनको मार्गदर्शक हो। जसले मलाई सामाजिक बन्न सधैं प्रेरेणा दिईरहेका छ। 

(लेखक कास्की आर्दश समाज स्पेनका बर्तमान अध्यक्ष हुन्।)

 

तपाईको प्रतिक्रिया