नेपालमा कोरोना स‌ंक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुग्यो


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा  थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

आइतबार थप २३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ ।देशभरि संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ रहेका छन् ।यस्तै होम आइसोलेसनमा ३० हजार ९ स ८६ जना रहेका छन् ।

आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । देशभरि १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकारी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको छ । सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।