स्वीट्जरल्याण्डभित्र नेपाल खोज्दा ….


बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड ।

नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता स्वीट्जरल्याण्डको एकहप्ते यात्रामा निस्कियौं ।

सन् २०२० को सुरुवातमा नै हामीले तयार गरेको सामग्री युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरुमाझ पुगेर प्रस्तुत गर्ने जमर्को गरेका थियौं । तर, कोरोनाको कहरका कारण सबै सपना चकनाचुर भए ।

ढिलै भए पनि अनलाइनखबर मार्फत स्वीटजरल्याण्डमा घुमेका, देखेका दृश्य र कुराकानीसहितको भिडियो कथा -डकुमेन्ट्री) सार्वजनिक गरेका छौं ।

यात्रा आरभ्भ

स्पेनको बार्सिलोनाबाट हाम्रो यात्रा स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो व्यापारिक शहर ज्युरिखतर्फ बढ्यो । अन्ततः हामी उत्तरपश्चिम स्वीट्जरल्याण्डमा अवस्थित ज्युरिख शहरमा पुग्यौं ।

स्विट्जरल्याण्डमा २६ वटा प्रदेश अर्थात् क्यान्टोनहरु छन् । जर्मन, फ्रेन्च, इटालियन र रोमन गरी चार भाषाहरु आधिकारिक मान्यता प्राप्त छन् । त्यसो त यहाँ धेरैले अंग्रेजी लेख्न, पढ्न र बोल्न पनि सक्छन् । १७ क्यान्टोनमा जर्मन भाषा, चार ओटामा फ्रेन्च, एउटामा इटालियन भाषा र तीन ओटा क्यान्टोनमा दुइ ओटा भाषा बोलिन्छ । ६३ प्रतिशत स्वीसहरु आफ्नो मातृभाषा जर्मन भएको बताउँछन् ।

ज्युरिख पुगेको पहिलो दिन हाम्रो भ्रमण तयारीमा नै बित्यो । दोस्रो दिनको पहिलो गन्तव्य स्वीट्जरल्यान्डको पूर्वी इलाकामा पर्ने डाभोसलाई बनायौं ।

डाभोस

हरेक बर्ष वर्ल्ड इकोनोमिक फोरमको बैठक डाभोसमा हुने हुँदा यो आफैंमा परिचित नाम हो । यात्राका क्रममा ठूला-ठूला पहाड र चट्टानहरु फोरेर बनाईएका टनेल र बाटोहरु निर्माण गर्दै बनेका पूर्वाधारको विकासले हामीलाई चकित बनायो ।

विश्वका महत्वपूर्ण नेताहरुका साथै बहुराष्ट्रिय कम्पनीहरुका सीइओ र माथिल्लो दर्जाका सेलिब्रिटीहरु हरेक बर्ष डाभोस पुग्ने हुँदा यस क्षेत्रको निकै चर्चा परिचर्चा हुने गर्दछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वर्ल्ड इकोनोमिक फोरमको ४९औं  बैठकलाई डाभोसमा नै पुगेर सम्बोधन गरेका थिए ।

बासेल

मार्च तेस्रो साताको यात्रामा हामीलाई सबैभन्दा ठूलो साथ मौसमले दिइरहेको थियो । हामी भ्रमणको तेस्रो दिन बासेल पुग्यौं । झन्डै ८६ लाखको जनसंख्या रहेको स्विट्जरल्याण्डको तेस्रो ठूलो जनसंख्या रहेको सहर हो बासेल । झन्डै १ लाख ८० हजार मानिसहरु यहाँ बसोबास गर्छन् ।

हामीले युरोपका तीन देशहरुको सीमा त्रिकोणको अवलोकन गर्‍यौं । राइन नदीको यो भागलाई Border Triangle वा ‘सीमा त्रिकोण’ भनिँदो रहेछ । जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्ड तीनवटा मुलुकहरुको सीमाको यहाँ भेट हुने भएकाले पनि त्यसो भनिएको हो।

यहाँबाट कन्टेनर बोकेका पानीजहाजहरु नर्थ सीतर्फ प्रस्थान गर्छन् । यो स्वीट्जरल्याण्डका लागि कच्चा पदार्थ तथा अन्य सामान ल्याउने तथा पठाउने बिन्दु पनि हो । राइन नदीको छेउमा बसेको बासेल शहर यसैले पनि आफैंमा महत्वपूर्ण छ ।

राजधानी बेर्न

बासेलदेखि हामी राजधानी सहरका रुपमा परिचित बेर्नतर्फ लाग्यौं । स्वीसहरु बेर्नलाई संघीय सहर भन्ने गर्छन् । यो स्वीट्जरल्याण्डको पाँचौं ठूलो शहर हो । यहाँको जनसंख्या झन्डै १ लाख ४० हजार छ । स्वीट्जरल्याण्डको संसद र संघीय रास्ट्रपतिको कार्यालय यही शहरमा छन् ।

संघीय संसद भवन अगाडि हामीले कुराकानी गरिरहँदा बैठक सकिएपछि मन्त्री तथा सांसदहरु बाहिर निस्किरहेका थिए । यहाँको भीआईपी सुरक्षा देख्दा अचम्म लाग्यो । हामीकहाँ भीआईपी सुरक्षाका कारणले जनताले अनावश्यक दुःख, झन्झट र कष्ट ब्यहोर्नुपर्ने बाध्यता छ, तर यहाँ त्यस्तो देखिएन ।

साँझ झमक्क पर्दै थियो । साँझ ढल्कँदै गर्दा हामीले ऐतिहासिक बेर्न शहरलाई नियाल्यौं । यो शहरको केन्ऽमा पर्ने भागलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । सन् १९०३ देखि १९०५ सम्म वैज्ञानिक अल्बर्ट आइन्स्टाइन बसेको घरलाई अहिले संग्रहालयका रुपमा सुरक्षित राखिएको छ । हामीले सोही घर अगाडि उभिएर यसबारे चासो राख्यौं ।

जेनेभा

स्वीस यात्राको चौथो दिन । लगातारको यात्राले हामी थकित त थियौं नै, तर अझ बढी उत्साहित पनि । किनकि हामी विश्व कूटनीति तथा वित्तीय कारोबारको केन्द्र जेनेभातर्फ लाग्दै थियौं। स्वीट्जरल्याण्डको दोस्रो सबैभन्दा ठूलो शहर जेनेभा क्यान्टोनको राजधानी पनि हो । यहाँ झन्डै ५ लाख मानिसहरु बसोबास गर्छन् । अंग्रेजी र फ्रेन्च यहाँका प्रमुख भाषा हुन् ।

हामी सबै भन्दा पहिले जेनेभास्थित नेपाली दूतावासमा पुग्यौं । संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगको कार्यालयसमेत रहेको उक्त भवनमा नेपाली झण्डा फर्फराएको देख्दा आनन्द लाग्यो । सन् १९८२ मा स्वीट्जरल्याण्डमा नेपालको कूटनीतिक नियोग स्थापना भएको हो । सन् १९९९ देखि राजदूतस्तरमा दौत्य सम्बन्ध रहृयो। नेपालमा पनि सन् २००९ देखि स्वीस दूतावास खुलेको छ । त्योभन्दा १० वर्ष अगाडि नै नेपालको दूतावास जेनेभामा स्थापना भएको हो ।

हामी अन्तर्राष्ट्रिय रेडक्रसका साथै अन्तर्राष्ट्रिय श्रम संगठन, अन्तर्राष्ट्रिय व्यापार संगठनलगायत संयुक्त राष्ट्र संघका विभिन्न निकायहरुका मुख्यालयहरुमा पनि पुग्यौं । युद्धबन्दीहरुलाई कस्तो व्यवहार गर्नु पर्छ भन्ने जेनेभा महासन्धिमा यही शहरमा हस्ताक्षर गरिएको थियो ।

हामी जेनेभास्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि उभियौं । त्यहाँ पुग्दा  फ्री तिब्बत लेखिएका ब्यानरहरु देखिन्थे र विरोध प्रदर्शनका आवाजहरु पनि गुन्जिरहेका थिए ।

लण्डनलाई कार्यथलो बनाएर बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका पत्रकार भगीरथ योगीपनि हामीसँगै यात्रामा थिए । हामीले त्यहीँ उभिएर नेपाललाई द्वन्द्वबाट बाहिर निस्कन संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाका बारेमा चर्चा गर्‍यौं ।

त्यहाँ पुग्दा पश्चिम युरोपका सबैभन्दा ठूला तालहरु मध्येको एक लेक जेनेभालाई पनि छुटाएनौं । यसले यो शहरकै सौन्दर्य बढाएको छ । यो तालले स्वीट्जरल्याण्ड र फ्रान्स दुई मुलुकलाई समेत जोडेको छ । ताल वरपर रमाउँदै गर्दा मनमा केही कौतुहल र जिज्ञासाहरु पनि उब्जिए ।

इन्टरल्याकेन

यात्राको पाँचौँ दिन, जेनेभाबाट राजधानी बेर्न हुँदै पर्यटकीय गन्तव्य सहर इन्टरल्याकेनतर्फ लाग्यौं । यो पहाडहरुको बीचमा अवस्थित शहर, राजधानी बेर्नबाट ५६ किलोमिटर टाढा पर्छ । घमाइलो दिन, त्यसमाथि यात्राका क्रममा देखिएका दृश्यहरु निकै मनमोहक थिए।

ब्रिनेज र थुन दुई तालहरुको बीचमा अवस्थित भएकाले पनि यसलाई इन्टरल्याकेन भनिएको रहेछ । हिउँले रंगिएका उच्च पहाडहरु र पहाडभन्दा माथि हिमालय पर्वतहरू सुसज्जित छन् । साहसिक पर्यटनका लागि यो गज्जबको क्रिडास्थल हो ।

झन्डै ६ हजार जनसंख्या रहेको यति सानो शहरमा वर्षेनी २६ लाख आन्तरिक तथा वाहृय पर्यटकहरु आउने गर्छन् । पूर्वाधारको विकास भयो भने उल्लेख्य मात्रामा पर्यटकहरु भित्रन्छन् भन्ने यो एक ज्वलन्त उदाहरण पनि हो ।

इन्टरल्याकेन पुग्ने पर्यटकहरुमध्ये झन्डै ९ प्रतिशत भारतीयहरु छन् । सन् १९९५ मा बलिउड निर्देशक यश चोपडाले ँदिलवाले दुल्हनियाँ ले जाएंगेू चलचित्रको छायाङ्कन यसै ठाउँमा गरे । त्यसपछि यहाँ कैयांैको संख्यामा बलिउड चलचित्रहरु बने र भारतीय पर्यटकहरुको ओइरो लाग्न थाल्यो ।

सन् २०११ मा यहाँको क्यान्टोनले ‘एम्बासडर अफ इन्टरल्याकेन’ को मानार्थ उपाधिले निर्देशक चोपडालाई सम्मान गर्‍यो । उनको निधनपछि क्रुसाल गार्डेनमा सम्झना स्वरूप एउटा प्रतिमा स्थापना गरिएको छ । हामीले सोही प्रतिमा अघि उभिएर फोटो खिच्यौं र सोच्यौं, नजिकै रहेको बलिउडलाई नेपालमा पनि तान्न सकियो भने पर्यटनको क्षेत्रमा ठूलो फाइदा लिन सकिँदोरहेछ ।

इन्टरल्याकेनबाट हाम्रो यात्रा स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर ज्युरिखतर्फ सोझियो । पहाड उक्लेर फेरि र्झनुपर्ने, चट्टान र पहाड फोरेर बनाइएको बाटो देख्दा असम्भव भन्ने यो दुनियाँ केही पनि छैन भन्ने लाग्यो ।

ज्युरिख

यात्राको छैटौ दिन,स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो व्यापारिक सहर ज्युरिख घुम्न निस्कियौं । सबैभन्दा पहिले ज्युरिखमा नै आएको भए पनि हामीले यो शहरलाई अन्तिममा नै घुम्ने योजना तय गरेका थियौं । ज्युरिख क्यान्टोनमा पर्ने यो शहरमा करिव चार लाख मानिसहरु बस्छन् । रोमनहरुले झन्डै २ हजार वर्ष पहिले स्थापना गरेको यो शहरमा ६ हजार वर्ष भन्दा पहिलेदेखि नै मानव बसोबास रहेको ठानिन्छ ।

यहाँको मुख्य भाषा जर्मन हो । संसारका सबै भन्दा ठूला वित्तीय केन्द्रहरु मध्ये पर्ने ज्युरिखमा ठूल्ठूला ब्यांक तथा वित्तीय संस्थाका कार्यालयहरु रहेका छन् । संसारकै सबैभन्दा धनी र राम्रो जीवनस्तर रहेका शहरहरुमध्ये पर्ने यो शहरलाई ‘द इकोनोमिस्ट’ पत्रिकाले बस्न योग्य संसारका १० ओटा शहरहरुको सूचीमा राखेको थियो । यहाँको आकर्षणको केन्ऽ ज्युरिख तालमा पुग्यौ। तालमा मोटरबोट चढेर नौका बिहारका लागि निस्कियौं ।

राजा त्रिभुवनको समाधि

लेक ज्युरिख बाहेक यहाँका अन्य दर्शनीय स्थानहरुमा राष्ट्रिय संग्रहालय तथा ज्युरिख विश्वविद्यालय पर्दछन् । ज्युरिख विश्वविद्यालय परिसरमा रहेको शिक्षण अस्पतालको बगैंचामा स्वर्गीय राजा त्रिभुवनको सम्झनामा एउटा शिलालेख पनि राखिएको छ ।

यो शिक्षण अस्पतालमा सन् १९५५ मा राजा त्रिभुवनको निधन भएको थियो । उनको सम्झनामा राखिएको शिलालेख ठ्याक्कै कल्पना गरेजस्तो भने छैन । झट्ट हेर्दा एउटा सिमेन्टको पट्टीजस्तो लाग्छ । धातुको प्लेटमा कुँदिएका अक्षरहरु मेटिनै लागेका छन् र पढ्न पनि मुस्किल पर्छ ।

राजा महेन्द्र र रानी रत्न राज्यलक्ष्मीले स्मृतिस्वरुप छाडेको उक्त चिह्न वर्षौंसम्म अस्पतालको कोरिडोरमा मिल्केको बताइन्छ । तर, सन् १९९९ देखि भने अस्पतालको बगैंचामा शिलालेख बनाएर राखिएको छ । तर, यसै ठाउँमा नयाँ भवन बन्ने भएपछि अब अस्पताल परिसरभित्रै अर्कै ठाउँमा स्थानान्तरण गर्ने प्रयास थालिएको बताइन्छ ।

हामीकहाँ विभिन्न बाहानामा वर्षौं अघि बनेका स्मारक, शालिक वा मूर्तिहरु भत्काउने र तोडफोड गर्ने प्रतिस्पर्धा नै छ । तर, यहाँ स्वर्गीय राजाको सम्झनामा रहेको शिलालेखलाई बर्षौं अघिदेखि संरक्षण गरिएको देख्दा अचम्म लाग्यो ।

फिफा मुख्यालय

यात्राको सातौं दिन । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको मुख्यालय पुग्यौं । ज्युरिखस्थित फिफा मुख्यालयमा पुग्दा त्यहाँ कुनै सुरक्षाकर्मीहरु थिएनन् । चारैतिर शान्त थियो । यहाँसम्म कि मुख्यालयभित्रै पसेर हेर्न र फोटो खिच्न पनि छुट थियो । यसले फिफा संसारभरिका फुटबल दर्शकहरुसँग निकट सम्बन्ध बनाउन इच्छुक रहेको देखाउँछ ।

फिफाले आफ्ना सदस्य राष्ट्रहरुको झण्डा आफ्नो मुख्यालय अगाडि राखेको छ । ठूला-ठूला आकारमा झन्डाहरु फरफराइरहेको देख्दा हामी नेपाली झण्डाको खोजीमा लाग्यौं । टाढाबाट झट्ट हेर्दा नेपालको झण्डा नै देखिएन । हामी नजिकै गयौ तर पनि ठम्याउनै मुश्किल पर्‍यो । झट्ट हेर्दा सेतो पर्दा मात्रै देखिन्थ्यो। चारकुने आकार भएको सेतो पर्दामा सानो नेपाली झण्डा टाँसेर झुण्डाइएको थियो । हेर्दा निकै अव्यवस्थित र अस्वाभाविक लाग्यो । यस्तो दृश्य देखेपछि हामीलाई दुख लाग्यो । र, त्यति नै बेला सम्बन्धित निकायमा खबर गर्‍यौं ।

भेटवार्ता र कुराकानी

हामीले एक हप्ते स्वीट्जरल्याण्ड भम्रणका क्रममा यहाँस्थित नेपालीहरुसँग भेटवार्ता र कुराकानी गर्न पनि छुटाएनौं । यहाँ रहेका नेपालीहरुको अवस्था, संख्या, पेशा तथा व्यवसायका बारेमा पनि हामीले चासो राख्यौं।

ज्युरिखमा नेपाली स्वामित्वमा खोलिएको होटलदेखि केही नेपालीहरु व्यवसायमा पनि संलग्न रहेको भेट्यौं । यस्तै विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरुलाई पनि हामीले यात्राकै क्रममा भेट्यौं । विदेशमा सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग कसरी जोड्न सकिन्छ भन्नेबारे उनीहरुसँग छलफल गर्यौं ।

ज्युरिख शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रापछि एउटा पहाडी क्षेत्र आउँछ, जसको नाम हो मुलेहन । एक रमणीय ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा पनि हामी पुगेका थियौं । वालेन्सी तालकै छेउमा एउटा रिसोर्टजस्तै लाग्ने घर छ, जहाँबाट हिउँले टल्केको हिमालसमेत देख्न सकिन्छ । त्यही घरमा हामीले भेट्यौं- स्वीस इन्जिनियर डिक्ट्रिक एल्मरलाई।

४५ वर्षअघि नेपाल पुगेर शुभ लामासँग उनले लगनगाँठो कसेका रहेछन् । यो जोडीको प्रेम अझै पनि लोभलाग्दो छ । अझ त्योभन्दा पनि उनीहरुभित्रको नेपाल प्रेम ! इन्जिनियर एल्मरको नेपाल प्रेम उनले बोल्ने नेपाली भाषामै झल्कन्छ ।

उनी नेपाली राम्रोसँग बुझ्ने मात्र हैन, प्रष्टसँग बोल्न पनि सक्छन् । ४५ वर्ष पहिले नेपालको सुदूरपश्चिम बझाङ जिल्लामा झोलुङ्गे पुल बनाउन पुगेका उनले त्यतिबेलाको रोचक अनुभव सुनाए ।

पटक-पटक नेपाल पुगेका एल्मरले नेपालको विकास निर्माणबारे टिप्पणी गरे । नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउने चर्चा उनको कानमा पनि पुगिसकेको रहेछ । यसबारे उनले नेपाल सरकारलाई सुझाव दिनसमेत भ्याए ।

वालेन्सी तालकै छेउमा उभिँदै गर्दा हामीले त्यहाँका मानिसहरुको आनीबानी, जीवनस्तर र जीवनचर्याबारे पनि चासो राख्यौं ।

स्वीट्जरल्याण्डबाट नेपालले के सिक्ने ?

स्वीट्जरल्याण्ड यात्राको एक साता बितिसकेको हामीले पत्तै पाएनौं । शहरहरुको अवलोकन, अध्ययन विभिन्न भेटघाट तथा कुराकानीले एक साताको समय पनि हामीलाई निकै छोटो लाग्यो । अध्ययन र अवलोकनपछि हामीलाई लाग्यो, स्वीसहरुको अनुभव, सीप, दक्षताबाट सिकेर खास गरी रोजगारमूलक प्राविधिक शिक्षामा नेपालले जोड दिनुपर्छ ।

स्वीटजरल्याण्डमा बर्षेनी १ करोडभन्दा बढी पर्यटकहरु पुग्छन् । पूर्वाधारको विकासले नै यो सम्भव भएको हो । हिमाली इलाकामा स्कीका लागि, हिउँमा गएर चिप्लेटी खेल्नका लागि सुविधा छ, रोपवेहरु सञ्चालन छन् । जलविद्युत निकालिएको छ, बाटोघाटो पुर्‍याइएको छ । अरु थुप्रै सुविधाहरु छन् । अर्कोतर्फ पर्यटकहरुले यहाँ समय बिताउँदा आफूलाई सुरक्षितसमेत महशुस गर्छन्।

पूर्वाधारको विकासले रोजगारी सिर्जना गर्छ । सँगसँगै अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँछ । स्वीसहरुले कृषि, पशुपालन, वन व्यवस्थापनमा जुन किसिमले विकास गरेका छन्, यसको हामीले अनुसरण गर्नुपर्छ । स्वीट्जरल्याण्डले अनुसरण गरेको विकासको बाटोबाट हामीले पाठ सिक्न सक्यौं भने नेपाललाई स्वीटजरल्याण्ड बनाउने हैन कि ‘समृद्ध नयाँ नेपाल’ भने अवश्य बनाउन सक्नेछौं ।- onlinekhabar

हेर्नुस् थप तस्वीरहरु

तपाईको प्रतिक्रिया