कोरोना महामारीमा मिडियाको भूमिकाबारे बहस


जीएनएन , लन्डन — नेपाली अनलाइन मिडियाहरुको समाचार आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन), को आयोजनामा आइतबार ‘महामारीमा अनलाइन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले कोरोना संक्रमण पछि बेलायतमा गरिएको अभ्यास र अनुभव सुनाएका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले गैरआवासीय नेपालीहरुमा संक्रमणको अवस्थाबारे जानकारी गराउनुका साथै कोरोना संक्रमणका विविध वैज्ञानिक आयामहरुबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले शुभकामना दिंदै कोरोना संक्रमणमा समुदायलाई सुसूचित गर्न पत्रकारहरुले निर्वाह गरिरहेको गरेको भूमिकाको प्रशंसा गरे । प्रवासमा रहेर परिवार पाल्ने, काम , व्यवसाय गरेर मातृभूमिको भाषा, साहित्य, पर्यटन प्रवर्द्धनमा पत्रकारहरुको योगदान अमूल्य रहेको उनले बताए।

कार्यक्रममा गैर आवासीय नेपाली संघको उच्चस्तरीय कोरोना कार्यदलका मिडिया संयोजक चिरन शर्मा, अस्ट्रेलियाबाट पत्रकार हेमन्त काफ्ले, कतारबाट दिप जंग शाह, अस्ट्रियाबाट सागर सुवेदी लगायतका पत्रकारहरुले आआफ्ना अनुभव सुनाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोरोना संक्रमण संगै अनलाइन पत्रिका र पत्रकारहरुले जागिर गुमाउने दुख पाउने अवस्थामा अनलाइनहरु संगै आएर नयाँ ढंगले अघि बढ्न खोज्नु खुशीको कुरा हो भन्दै बधाई तथा शुभकामना ब्यक्त गरे । कार्यक्रममा अतिथिद्वय राजदूत डा. सुवेदी तथा अध्यक्ष आचार्यले संयुक्त रुपमा जीएनएन नेटवर्कको वेबसाइट www.gnnnews.netको उद्घाटन पनि गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले महामारीमा अनलाइन पत्रकारिताको माग बढे संगै स्तरीय र विश्वसनीय समाचारको पनि माग बढेको र अनलाइनका चुनौती पनि थपिएको बताए । लोकतन्त्र र प्रेस स्वतन्त्रताका कुरा गर्दै गर्दा स्वतन्त्र पत्रकार र समाचार संस्था बन्द हुने स्थिति र सरकार नियंत्रित पत्रिका मात्र रहने अवस्था आउनु लोकतान्त्रिक मुलुकको मान्यता विपरित भएको विचार ब्यक्त गर्दै उनले राज्यमा पत्रकारहरुले जागिर गुमाउदां , पत्रपत्रिका बन्द हुँदा सरकारले हेर्नुपर्ने कुनै नीतिनियमको ब्यवस्था हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्यले पत्रकारहरुले संक्रमणका क्रममा गरेकोनिस्वार्थ सेवाको प्रशंसा गर्दै प्रवासमा नेपाली भाषा, संस्कृति, पर्यटन साथै समग्र नेपाल प्रवर्द्धन गरिरहेका पत्रकारहरुलाई गैर आवासीय नेपाली संघ लगायत सबै संघ-संस्थाले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्यले एक संदेश पठाउंदै जीएनएनले डायस्पोरा नेपाली समुदायमा पुराएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि एनआरएनएसंग सहकार्य गर्दै अघि बढ्न सुझाव दिए । त्यस्तै एनआरएनएका युरोप उपसंयोजक कृष्ण तिमल्सेना, नेपाली जन संपर्क समिती बेल्जियमकी सभापति सीता सापकोटा , ग्लोबल नेपलिज डटकमका अध्यक्ष चिरन्जीवी ढकालले पनि नेटवर्कको सफलताको कामना गर्दै शुभकामना संदेश पठाएका थिए। गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष योगेन क्षेत्रीले शुभकामना मन्तब्य ब्यक्त गर्दै जुनसुकै संस्था अघि बढ्न या टिक्न त्यसको आर्थिक पाटो महत्वपूर्ण रहेको भन्दै कसरी संस्थालाई नाफामूलक बनाउने कुरामा सोच्न सुझाएका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति युरोपका संयोजक शेखर कडेल, नेपाल प्रेस संगठन युरोपका सहसंयोजक तथा पत्रकार महासंघ युकेका उपाध्यक्ष श्याम लुइँटेल, प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौला लगायतले मन्तब्य व्यक्त गरेका थिए । प्रेस युनियन केन्द्रका डिजिटल बिभागका प्रमुख युवराज गौतम, जीएनएनका सक्रिय सदस्यहरु मन्दिप केसी, हरि कृष्ण न्यौपाने, गणेश पाण्डे, बिजय शर्मा, पत्रकार नविन पोखरेल लगायत २ दर्जन बढी पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा जीएनएनका सम्पादक डा जगन कार्कीले जीएनएनको अवधारणा बारे प्रकाश पार्दै नयाँ वेबसाइटका बारेमा जानकारी दिएका थिए।

सहभागीहरुलाई धन्यवाद दिंदै जीएनएनका संयोजक भगीरथ योगीले संजालमा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै एक आपसमा स्वयंसेवी आधारमा समाचार आदान प्रदान गर्ने उद्देश्यले संजाल शुरु गरिएको जानकारी दिए।

संजालका सदस्य तथा बेल्जियमबाट प्रकाशित हुने चारदिशा डटकमका प्रधान सम्पादक ओम शर्माले भर्चुएल माध्यमबाट आयोजित कार्यक्रमको संचालन गरेका थिए।