स्याङ्जा सहयोग समाजको ११ औ बार्षिक साधारणसभा सम्पन्न


बार्सिलोना।  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ।  विश्वभर छरिएर रहेका जिल्ला बासी संबद्ध संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भर्चुअल माध्यमबाट शनिबार साधारणसभा सम्पन्न भएको हो। 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विदेशमा सिकेको सिप र अनुभवलाई मातृभूमिका लागि उपयोग गर्न आग्रह गरिन्। उनले देशको बिकास र परोपकारी काममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले खेलेको भूमिकाको मुक्तकण्ठले प्रंशसा गरिन्। मन्त्री अर्यालले परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीमा अग्रसर देखाउनुपर्नेमा जोड दिईन्।

समाजका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठले जिल्लाको दिगो बिकासका लागि बिश्वभर छरिएर रहेका जिल्लाबासिको महत्वपूर्ण भूमिका रहेको बताउदै स्थानीय निकायसँग सहकार्य गर्न नेतृत्वले जोड दिनुपर्ने बताए। 

कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँड, कालीगण्डकी गाउँपालिका प्रमुख खिम बहादुर थापा, फेदिखोला गाउँपालिका अध्यक्ष घनाश्याम सुबेदी लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए। 

समाजका महासचिव हेमन्त रानाभाटले संस्थाको प्रगती बिबरण तथा कोषाध्यक्ष खगेन्द्र गैह्रेले आयव्यय विवरण प्रस्तुत गरेका थिए। साधारणसभामा विभिन्न देशबाट समाजका एनसीसी अध्यक्षहरुले आ-आफ्नो कार्यबिबरण बारे जानकारी गराएका थिए। 

समाजका आईसीसी अध्यक्ष जीवन न्यौपानेले स्थानीय निकायहरुसँग समन्वय गर्दै  दिर्घकालिन योजनाहरु तय गर्ने,आकस्मिक कोष निर्माण गर्ने, शिक्षा स्वास्थ्य पर्यटन विकासमा टेवा पुर्याउने तथा सामुहिक लगानीमा जोड दिने प्रतिवद्वता ब्यक्त गरे। 

दुई चरणमा सम्पन्न कार्यक्रम केन्द्रिय महासचिव हेमन्त रानाभाट र एसिया प्यासिफिक संयोजक राजेश पाण्डेले संचालन गरेका थिए।