बीबीसी मास्टर सेफमा नेपाली खाना लिएर भिडदै नेपाली ठिटो


जीएनएन — बेलायत निवासी एक नेपाली सेफले पहिलो पटक बीबीसी वर्ल्डको  ‘मास्टर सेफ युके २०२० च्यालेन्ज’ मा एक प्रतिस्पर्धीको रुपमा भाग लिने मौका पाएका छन् ।
सिराहा स्थायी घर भएका सेफ सन्तोष शाह नोभेम्बरबाट सुरुभएको  पाक-कला प्रतियोगितामा नेपाली खानालाई लिएर प्रतियोगितामा सहभागी भएका छन् ।
नेपाली सेफ एउटा प्रतिष्ठित कुकिङ च्यालेन्जमा नेपाली खाना नै लिएर पुगेको यो सम्भवत: पहिलो पटक हो । उक्त प्रतिस्पर्धामा ३२ जना उत्कृष्ट प्रतियोगीहरु सहभागी रहेका छन् । नोभेम्बर ९ मंगलबारबाट बीबीसीबाट प्रसारण भइरहेको उक्त कार्यक्रममा उनले पहिलो चरणको प्रतिस्पर्धा गरिसकेका छन् ।
१३ वर्ष भारतका विभिन्न प्रतिष्ठित होटलमा काम गरेर सन्तोष सन् २०१० मा लन्डन आएका हुन्  । लन्डनमा उनले ६ वटा रेष्टुरेन्ट र एक तारे होटलमा काम गरेर अनुभव हासिल गरिसकेका छन् । थुप्रै सेलिब्रेटी सेफहरुसँग काम गरेर खारिएका सन्तोष लन्डनको सिनामन किचेनमा हेड सेफको रुपमा काम गरिरहेका छन् । प्रतियोगिता सकिएपछि चांडै नै लन्डनमा  हिमाल, पहाड र तराईका मेनुसहित पूर्णरुपमा नेपाली खाना मात्र राखेर मिसेलिन स्टार रेस्टुरेन्ट खोल्ने योजनामा रहेको उनले बताए ।
सन्तोष आफ्नो  मेहनत, लगन, सधैँ अरुलाई सम्मान गर्ने र कहिल्यै ठूलो नहुने गुणले नै यति कलिलो उमेरमा सफल सेफ बनेर देशको नाम उंचो राख्न बीबीसीको मास्टर सेफ सो सम्म पुग्ने प्रथम नेपाली र यो उमेरमा नै यो सफलता चुम्ने प्रथम दक्षिण एसियाली सेफ बन्न पुगेको बेलायत निवासी एक युवा  ब्यवसायी  तथा उनका मित्र मनोज मेहता बताउँछन्  ।