७८ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै बाइडन


 वासिङ्टन डीसी (जीएनएन) – अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गरेका छन् । उनले २० जनवरी, २०२१ मा सपथ ग्रहण गर्दा उनी अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने छन् । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ बर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा जेष्ठ राष्ट्रपति मानिंदै आएको थियो उमेरले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेन भन्दा चार बर्ष कान्छो छन् । उमेरको हिसाबले बाइडेन बृद्ध भएपनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरु बताउछन् ।

बाइडनसँगै उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस भने उनीभन्दा झण्डै २० बर्ष कान्छी छिन् । बाइडनले उमेरका कारण दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने संभावना रहेको छ । उनी यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर भएका थिए। उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए। तर बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उनी पछाडी परेका थिए ।

बाइडनको जन्म सन् १९४२ नोभेम्बर २० मा अमेरिकाको पेन्सिल्भेनिया राज्य अन्तर्गत पर्ने स्क्रान्टनमा भएको हो । उनलाई पटक पटक पारिवारिक शोक परेको थियो । उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो । दुर्घटनामा दुई छोरा पनि घाइते भएका थिए। उनका छोरा बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क सम्वन्धी समस्याका कारण मृत्यु भएको थियो । उनका चार सन्तान हुन् । उनले उच्च शिक्षा अन्तर्गत कानुन अध्ययन गरेका थिए भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिया नेताका रुपमा पनि उनी चिनिन्छन् ।