नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी


काठमाणंडौ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी हुनुभएको छ । उवासंघको ५४ औ वार्षिक साधारण सभामा शनिवार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफुले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिनुभयो । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणा संगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो “मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते सांझ सम्म मात्रै हो । आज देखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्र्पूण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसंग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जीत भनेको सम्पुर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ । ”

यस्तै एशोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

जिल्ला नगर तर्फको उपाध्यक्षमा बिजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरण संगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ ।

सरकारसंग सीमित साधन र स्रोत छ । सरकारसंग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागी वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पुर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो ।

वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ । महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कूल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याउनुभएको थियो । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाउनुभएको थियो ।

त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित हुनुभएको छ । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । आइतबार सवेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्ष बाहेकका पदमा शनिबार मतदान भएको थियो ।

”महासंघमा वस्तुगत तर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८/०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो ।

वि.सं. २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भयो । त्यसैको विकास हुँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् । १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।