संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने


पोखरा- पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताएका हुन् । व्यवस्था परिर्वतन भएपनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौतिहरु आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘काठमाडौं र पोखराका आ—आफ्नै विशेषता छन्’, जिसीले भने,‘ काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।’ अरु महानगर भन्दा काठमाडौं महानगरपालिका पाको र पुरानो महानगर भएकाले यसले स्थानीय तहमा अग्रणी भूमिका खेल्नुपर्ने जिसीको भनाइ छ ।

काठमाडौं—पोखरा जोड्ने सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुबै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताए । पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको सो अवसरमा जिसीले बताए ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनियन्त्रित बसाईंसाइ काठमाडौ र पोखराको चुनौति भएको बताए । उनले स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्ने बताए । काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्ने उनले बताए । उनले कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताउँदै काठमाडौं र पोखराको यसमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौ र पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताइन् । खड्गीले काठमाडौंले उदाहरणीय काम गरेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन् । कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराले स्वागत र कार्यक्रमको सञ्चालन महानगरका प्रवक्ता धनबहादुर नेपालीले गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले काठमाडौं महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई मायाको चिनो प्रदान गरेका थिए भने पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मायाको चिनो प्रदान गरेका थिए । शाक्यले पनि पोखरा महानगर प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो प्रदान गरेका थिए ।