साइप्रसमा २३ वर्षिया नेपाली युवतीद्वारा आत्महत्या


साइप्रस (जीएनएन) — साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउंपालिका वडा न. ८ खरे घर भएकी हाल साइप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिया शुक्री तामागंले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएको छ । मृतक तामांग २०१९ साल अक्टोबर महिनामा काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साइप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. रामजीवन पन्जियारले जानकारी दिएका छन् । मृतक तामांगको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाइने डा. पन्जियारले बताए ।

आत्महत्याको कारण 

प्राप्त जानकारी अनुसार मृतक युवती वैवाहिक सम्बन्धमा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार  श्रीमान सुबिनको बलेरो दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ । मृतक युवतीले टिकटक भिडियोमा  आफ्ना आमाबुबा, सासू ससुरासंग माफी माग्दै  आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिइन् । घरेलु कामदारको रुपमा साईप्रस आएकी शुक्रीले श्रीमानको मृत्युकाे पीडा सहन नसकी आत्महत्या गरेकाे हुनसक्ने अनुमान गरिएको छ।