युभेन्ट्सद्बारा वार्सिलोना उसैको मैदानमा पराजित


काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत युभेन्ट्सले बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको युभेन्ट्सलाई समूह विजेता बन्न कम्तीमा ३-१ को जित आवश्यक थियो । यस्तोमा युभेन्ट्सले क्लिनसिट राख्दै शानदार जित हात पार्दै समूह विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनायो । बार्सिलोना भने समूह उपविजेता बन्यो । ६ खेलबाट दुवै टिमले समान १५ अंक जोडे पनि हेट टु हेड मा युभेन्ट्स अगाडि रहेको हो ।

युभेन्ट्सका लागि रोनाल्डोले १३औं र ५२औं मिनेटमा पेनाल्टीमा गोल गरे । यस्तै वेस्टन म्याकेन्नीले २०औं मिनेटमा एक गोल गरे । ७५औं मिनेटमा लियोनार्दो बोनुचीले गरेको गोल भिएआर रेफ्रीले मान्यता नदिँदा युभेन्ट्सले गोल थप्ने अवसर गुमायो ।

बार्सिलोका कप्तान लिओनल मेसी र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुँदा यस खेलले मैदान उत्रिनुअघि नै चर्चा पाएको थियो । सन् २०१८ पछि पहिलो पटक मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदान उत्रेका हुन् । कोरोना पोजेटिभ देखाउँदा रोनाल्डोले घरेलु मैदानमा पहिलो लेग गुमाएका थिए । तर दोस्रो लेगमा भने दुई गोल गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

उता मेसीले भने घरेलु मैदानमै गोल गर्न सकेनन् र टिमलाई हारबाट जोगाउन पनि सकेनन् । समूह जी कै अर्को खेलमा युक्रेनी क्लब डिनामो किभले पेरेन्सभारोसलाई १-० ले पराजित गर्दै समूह चरणमा पहिलो जित हात पारेर तेस्रो स्थान हासिल गरेको छ । डिनामोका लागि घरेलु मैदानमा ६०औं मिनेटमा पोपोभलले एक मात्र गोल गरे ।