‘पुरुष हाम्रा प्रतिद्वन्दी होइनन्’–सांसद डा.भण्डारी


पोखरा – गण्डकी प्रदेशका सांसद डा.पुष्पा केसी भण्डारीले महिलामाथि हुने हिंसामा पुरुषमात्रैलाई दोष दिन नहुने बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मेची महाकाली बुहारी संयुक्त आवाज कास्कीले बुधबार पोखरामा आयोजना गरेको ‘व्यक्ति, समाज र महिला सशक्तिकरणमा हाम्रो ऐक्यवद्धता, लैगिक हिंसा अन्त्यको प्रतिवद्धता’ विषयक अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै सांसद भण्डारीले पुरुषहरुलाई यतार्थ बुझाउन नसक्दा उनीहरुले महिला माथि हिंसा गर्ने गरेको औल्याउनुभयो । ‘ पुरुषलाई प्रतिद्वन्दीका रुपमा नहेरौं, बरु नारीका समस्या नारीले बुझ्नुपर्ने, तर बुझेर पनि नारीलेनै नारी माथि हिंसा गरेका छन्’– सांसद भण्डारीले भन्नुभयो ।

उहाँले महिला हिंसा न्यूनिकरणका लागि प्रदेश सरकारले छोरीलाई आत्मारक्षा सम्बन्धि तालिम दिन बजेट छुट्टयाएको जानकारी दिनुभयो । अहिले शुरुवाति चरण भएकाले थोरै बजेट छुट्टयाइएपनि आगामी दिनमा यसलाई अभियानकै रुपमा अगाडी सारिने भण्डारीले बताउनुभयो । गरिबी तथा अशिक्षाका कारण पनि महिलाले वर्षौदेखि हिंसा सहदै आएको भण्डारीको भनाई थियो । तर अहिले नारीहरु शिक्षित हुँदै आएकाले आफुमाथिका हिंसाका घटनाहरु बाहिर ल्याउने गरेको तथ्य खुलाउनुभयो ।

कार्यक्रममा आयोजक समितिका कानुनी सल्लाहकार तारा सर्माले नेपालमा महिलामाथि हुने हिंसा र प्रचलित कानुनका बारेमा अवगत गराउनुभयो । संजिवनी दिदी बहिनी केन्द्रका अध्यक्ष बिना गुरुङ्गले महिलाको क्षेत्रमा काम गर्ने अगुवाले आफ्नों घरभित्रको समस्या मात्रै होइन समाजकै समस्यालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रेडियो जननीका अध्यक्ष मिलन थापाले महिलालाई स्वतन्त्र रुपमा अगाडी बढ्नपारिवारिक, सामाजिक तथा धार्मिक चुनौतीहरु समेत रहेको उल्लेख गर्नुभयो । डिसु नेपालका अध्यक्ष नोमा थापाले नेपालमा महिलामाथि घटेका विभिन्न उदाहरण प्रस्तुत गर्दै पिडकलाई कारवाहीको दायरमा ल्याउन नसकिएकोमा दुःखेसो प्रकट गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै आयोजक समितिका कास्की संयोजक मनु सर्माले नेपालमा महिला हिंसा विरुद्धको कानुन बलियो भएको तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो भएको उल्लेख गर्नुभयो । अब महिलाले कुनैपनि हिंसा नसहन आग्रह गर्दै आफुमाथि भएको हिंसाको बिरुद्ध आवाज बाहिर ल्याउन आग्रह गर्नुभयो । ‘तपाईहरुमाथि हुने अन्यायको पक्षमा हामी वकालत गर्नेछौं, अब पिडा सहेर नबस्नुहोस्’–उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका कोषाध्क्ष गिता थापाले स्वागत तथा सदस्य लक्ष्मी शाही ठकुरीले सञ्चालन गर्नुभएको थियो ।