रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा


काठमाडौं – पछिल्ला सातमध्ये चारवटा च्याम्पियन्स लिगको उपाधि जितेको स्पानिस जायन्ट रियल मड्रिड समूह चरणको अन्तिम खेल जित्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । करिम बेन्जेमाले दुई गोल गरेपछि बोरुसिया मोन्चेग्लाडविचलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बेन्जामाले दुवै गोल पहिलो हाफमा गरे । नवौं मिनेटमा पहिलो गोल गरेका उनले ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

जितपछि ६ खेलबाट १० अंक जोड्दै रियल समूह बीको विजेता बन्यो । अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेलेपछि पनि रियललाई फाइदा भयो ।

रियलसँग पराजित भए पनि ६ खेलबाट ८ अंक जोडेको मोन्चेनग्लाडबाक समूह उपविजेता बन्दै अन्तिम १६  मा प्रवेश गरेको छ । समान ८ अंक नै जोडेको साख्तर भने हेड टु हेडमा मोन्चेनग्लाडबाकसँग पछि पर्दै समूह चरणबाटै बाहिरियो । ६ अंक जोडेको इन्टर चौथो हुँदै समूह चरणबाट बाहिरियो ।