स्पेनमा देशभर खोप अभियान, तीन महिनाभित्र २२ लाखले खोप लगाउने


photo:- el pais

बार्सिलोना।  स्पेनको सरकारले प्रत्येक हप्ता सबै क्षेत्रहरूमा करिव ३ लाख ५० हजार कोभिड–१९ विरुद्धको खोप पठाउने भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार आउदो १२ हप्तामा ४५ लाख ९१ हजार २ सय ७५ खोप स्पेन आईपुग्ने र करिव २२ लाख ९५ हजार ६ सय २८ जना लाभान्वित हुने अपेक्षा गरिएको छ। 

स्पेनमा गत सातादेखि आम मानिसमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको हो । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा स्पेनका १७ वटै क्षेत्रबाट सुरु गरिएको हो। यसलाई देशभर सामूहिक खोप अभियान समेत भनिएको छ। 

पहिलो ३ लाख ५० हजार डोज मंगलबार स्पेन आईपुगेको हो।खोप सहितका कन्टेनरहरु म्याड्रिड, बार्सिलोना, भिट्टोरिया, भ्यालेन्सिया र सेभियाका एयरपोर्टहरूमा हवाईजहाजबाट आइपुगेका थिए। जहाँबाट तिनीहरूलाई बाँकी क्षेत्रमा वितरण गरिएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

स्पेनमा खोपको आगमनसँगै सन् २०२० को बिदाई भएको छ तर महामारी भने समाप्त भएको छैन। बर्षको अन्तिम हप्ताको तथ्याङ्कले कोरोनाको पहिलो लहरभन्दा पनि दोस्रो लहर झन् खतरनाक रहेको स्पष्ट संकेत गरेको छ।