विशेष अधिवेशन सहमतिमा गरिनुपर्छ – एनआरएन पूर्व अध्यक्ष भट्ट 


 

काठमाडौं (जीएनएन) गैरआवासीय नेपाली संघ को वर्तमान नेतृत्वको कार्यशैलीप्रति संघकै एक पूर्व अध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्ष २०२१ को अवसरमा २४न्युजप्रेसडटकमद्वारा शुभकामना आदानप्रदान गर्न आयोजित एक भर्चुअल कार्यक्रममा संघका पूर्वअध्यक्ष भवन भट्टले आफ्नो कार्यकालमा सफलताको उत्तरार्धमा पुर्याएको नागरिकताको विषय अहिले ओझेलमा पारिएको जनाए । ‘एनआरएन नागरिकताको विषयमा हामीले ठूलै सफलता पाएका थियौं,’ उनले भने, ‘तर, पछिल्लो नेतृत्वले त्यसलाई पछ्याउन नसक्दा पाएको उपलब्धि  पनि गुम्ने खतरा बढेको छ ।’

संघको विधानमा रहेको परम्परावादी निर्वाचन प्रक्रिया र शैलीलाई विधानबाटै परिमार्जन गर्नुपर्ने अवस्थामा अहिले भने विधान संशोधनका नाममा अर्कै अर्कै विषय अगाडि सारिएको टिप्पणी गरे । ‘महामारी नियन्त्रणदेखि लगानी भित्र्याउने सम्मका विषयमा के के काम भए?’ उनको प्रश्न थियो । हाम्रो काम गर्ने तौर तरिका पनि नमिलेको हो कि भन्दै भट्टले यसैगरी काम गर्दै गए संघको औचित्यमाथि नै प्रश्न उठ्ने बताए । 

‘गैरआवासीय नेपाली संघले यही जनवरीको चौथो साता विशेष अधिवेशन आह्वान गरेको छ । यो आह्वानप्रति नै संघमा मत बाझिएको छ । सहमतिमा गरिनुपर्छ, मत बाझिने गरी होइन,’ उनले टिप्पणी गरे ।संघको वर्तमान नेतृत्वले गर्नैपर्ने काम छाडेर नगरेपनि हुने काममा चासो बढाएको बताए । एनआरएनमाथि अहिले थुप्रै चुनौती छन्, उनले भने, तर, संघको प्राथमिकतामा भने अर्कै विषय छन् ।

पूर्व अध्यक्ष भट्टले एनआरएनएले यसका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुलाई थप बलियो बनाउनुपर्नेमा कमजोर बनाउन खोजिरहेको बताए । ‘एनसीसीहरुसँग धेरै जिम्मेवारी छ, त्यसैले कमजोर नबनाऔं,’ उनले भने ।

भट्टका अनुसार अघिल्लो नेतृत्वले थालेका थुप्रै सुधारका कामलाई बेवास्ता गरिएको छ । कतिपय कामलाई बीचमै छाडिएको उनले गुनासो गरे ।