इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन


लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । प्रधानमन्त्रीले सोमबार साँझ टेलिभिजन सम्बोधनमा फेब्रुअरीसम्म लकडाउन जारी रहने बताए ।

खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घरनजिक शारीरिक अभ्यास, जोखिममा रहेका मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षणजस्ता अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । प्राथमिक र माध्यमिक विद्यालय तथा कलेज बन्द गरी मंगलबारदेखि अनलाइन कक्षा सुरु र परीक्षा स्थगित गरिने घोषणामा उल्लेख छ ।

बैंक, फार्मेसी, सुपरमार्केट, अफ लाइसेन्स, बिल्डिङ र गार्डेन सेन्टर, कार वास, कार मर्मत पसल, बाइक पसल, लन्ड्री, प्रार्थना वा पूजास्थल भने खुला हुनेछन् । तर रेस्टुरेन्टले टेकवे र डेलिभरीबाहेक अल्कोहल र सिटिङ सर्भ गर्न पाउँदैनन् । हस्पिटालिटी क्षेत्र (होटल, होस्टल, क्याम्प साइट), पर्सनल केयर बिजनेस, ब्युटी सलुन, हेयर ड्ेरसर, मसाज, स्पा, ट्याटु, थोक तथा खुद्रा कपडा पसल, सिनेमा, संग्रहालय, क्यासिनो, चिडियाखाना, आउटडोर जिम, स्केटिङ, बलिङ, गल्फजस्ता खेल गतिविधि आदि बन्द हुनेछन् ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरूप तीव्रतापूर्वक फैलिइरहँदा सोमबार २४ घण्टामा ५८ हजार ७ सय ८४ नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या ५० हजार नाघेको यो लगातार सातौं दिन हो ।