नेपाली सेनाद्वारा गोरखामा ‘एकीकरण पदयात्रा’


काठमाडौं (जीएनएन): नेपाली सेनाले नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटो पछ्याउँदै ‘एकीकरण पदयात्रा’ शुरु गरेको छ । २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले मंगलबार गोरखाको गोरखा दरबारदेखि काठमाडौंस्थित सैनिक मुख्यालयसम्म पदयात्रा थालेको हो ।

गोरखा दरबारबाट शुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै पुस २७ गते काठमाडौं भद्रकालीस्थित सैनिक मुख्यालय आइपुग्ने छ । पदयात्रामा सहभागी सैनिकहरुले पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका सैनिकका पाँच वटा युनिटको निशान झण्डा बोकेका छन् भने त्यतिबेलाकै पोशाक पहिरिएका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्धेश्यले यो पदयात्राको आयोजना गरिएको हो । पदयात्रामा सहभागी सैनिकहरु पदमार्गमा पर्ने विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनमा पनि सहभागी हुने छन् । नेपाली सेनाले पछिल्लो समय ऐतिहासिक गढी र किल्ला संरक्षणका लागि पनि अभियान सञ्चालन गर्दै आइरहेको छ ।

मुलुक संघीयतामा गई कार्यान्वयन भइसकेको अवस्थामा नेपाली सेनाले पृथ्वी नारायण शाहले शुरु गरेको नेपाल एकीकरणको अभियानलाई स्मरण गर्दै कार्यक्रम सञ्चालन गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाल गणतन्त्रमा प्रवेश गर्नुअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने प्रचलन रहेपनि गणतन्त्र स्थापनापछि भने सरकारले यो दिवस मनाउन छाडेको छ ।

राप्रपासहितका केही दल र नागरिक समाजका केही अगुवाहरुले पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउनुपर्ने भन्दै दबाब दिँदै आइरहेका छन्। नेपाल तथा बाहिर पनि जनस्तरबाट पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउने क्रम भने बढ्दै गएको देखिन्छ। (तस्वीर : नेपाली सेना)