एनआरएनको बिधान संशोधन अहिले नै हुन्छ – पन्त, यो बेमौसमी बाजा हो :-आचार्य


बार्सिलोना। गैर आबासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्। विशेष महाधिबेशन रोक्न अन्तर्राष्ट्रिय समन्वय परिषदका केहि सदस्यहरुले परराष्ट्र मन्त्रालयमा निवेदन पठाएपछि प्रतिक्रिया दिदै अध्यक्ष पन्तले यस्तो बताएका हुन्।

‘केहि साथिहरुले परराष्ट्रमा निवेदन हालेको खबर हामीलाई पनि आयो।आधिकारिक रुपमा भलै त्यो आईसकेको छैन।’अध्यक्ष पन्तले भने, ‘परराष्ट्रमा मैले फोन गरेर बुझ्दाखेरि हो तपाईहरुको रोक्नुपर्ने कुनै आवश्यकता छैन।आफ्नो काम तयारी गरेर अगाडि बढाउनुहोस् भनेर परराष्ट्रले हामीलाई भनिसकेको अबस्था छ।’

 काठमाडौको भएको चुनावको ह्याङ्गओभर नसकिएकाले यस्ता गतिबिधिहरु भईरहेको उनले आरोप लगाए। पन्तले भने, ‘केहि साथिहरुलाई चुनावको रिफलेक्सन पनि देखिन्छ। यहाँ मात्र होईन त्यो सबैठाउँमा यसरी नै देखिएको छ।मैले त्यही रुपमा नै बुझेको छु।उहाँहरुसँग पटक-पटक छलफल भएकै हो।बिशेष महाधिबेशन गर्नुपर्छ भन्नेमा कसैको पनि दुईमत नै थिएन।विवाद गर्नुपर्ने र हुनुपर्ने कुनै आवश्यकता नै देखिएको छैन।’

’मैले सँगसँगै के भनिराखेको छु भने कुनै विवादित ईस्युहरु जुन गम्भिर प्रकृतिका छन् र जसले संगठनको भविश्यमा नै गम्भिर प्रकृतिको असर गर्छ भने वरु थाति राखौला भनेर मैले भनिराखेको नै छु।’ पन्तले भने।

संघको जनवरी २३ र २४ मा भर्चुअल रुपमा हुने विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै एनआरएनको संरचनामा ब्यापक हेरफेर हुनेभएपछि विवाद सुरु भएको हो।

यो बेमौसमी बाजा हो :- पूर्व उपाध्यक्ष आचार्य 

९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका संघका पूर्व उपाध्यक्ष कुल आचार्यले अहिलेको नेतृत्वले बेमौसमी बाजा बजाईरहेको आरोप लगाएका छन्। ‘यो बजिरहेको बेमौसमी बाजा हो। ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले तीन  महिनाभित्र त्यतिबेला पारित नभएको सांगठानिक र आर्थिक प्रतिबेदन पारित गर्नुपर्ने म्यान्डेड हो। तर बिधान जस्तो संस्थाको मेरुदण्डतर्फ लागेर नेतृत्वले समय बर्बाद पारिरहेको छ’ आचार्यले भने।

बिधान संशोधनजस्तो गम्भिर बिषय भर्चुअल रुपमा गर्न नहुने उनले बताए। ’बिधान संशोधनजस्तो गम्भिर बिषय भर्चुअल रुपमा गर्दा सबैको भावना समेटिदैन। त्यहाँ बोल्न दिन पनि मिल्छ,नदिन पनि मिल्छ। अर्को दुर्भाग्यका साथ भन्नुपर्दा कुनै पनि संस्थामा बनेका २ बर्षका लागि बनेका सदस्यहरु ,अहिले साथिहरुले नयाँ सदस्यताहरु बनाएर बिशेष महाधिबेशनमा लैजाने चेष्टा गर्दै हुनुहुन्छ।नयाँ प्रतिनिधि बनाउदैछौ भने चुनाव गरेर नेतृत्व पनि छान्नु पर्यो। यो सर्वमान्य सिद्वान्त हो नि। हामीले बुझेको २ बर्षका लागि बनेका सदस्यहरुको दुई बर्ष नै भ्यालिड हुँदैन भने त्यसबाट निर्बाचित पदाधिकारीहरुको दुई बर्ष भ्यालिड हुन्छ त ?’ आचार्यले प्रश्न गरे।

 अनावश्यक कुराहरुमा छलफल गराएर असहमति मात्र बढाउने काम गरेको ‘तपाईहरुले देख्नुभएको छ कहिले ६६ जना साथिहरुको असहमति छ, कहिले ४७ जनाको आएको छ। परराष्ट्रसम्म पनि निबेदन पुगेको छ। संघमा यस्तो अबस्था आउनु दुर्भाग्य हो।यसलाई सम्हालेर गर्नुपर्ने काममा ध्यान दिन म नेतृत्वलाई सुझाव दिन्छु।संघलाई विखण्डन गर्ने गरी बिशेष महाधिबेशन अगाडि बढाउन खोजिएको छ, हो एनआरएनको हितमा छैन।’ उनले भने।

विशेष महाधिवेशन कोषेढुंगा बन्छ : महासचिव डा. शर्मा 

संघका महासचिव डा. हेमराज शर्माले विशेष महाधिबेशन संघको निर्वाचनमा हुने विकृति अन्त्यका लागि कोषेढुंगा सावित हुने बताए । उनका अनुसार विधान संशोधन गरेर धेरै राम्रो व्यवस्था गर्न लागिएको छ ।

अब एनआरएनएमा युवा उपाध्यक्ष, ६ क्षेत्रमा एक एक जना युवा संयोजक, युवा उपसंयोजक रहने व्यवस्था गरिनेछ भने युवाको उमेर हद ४० वर्षबाट घटाइएको छ । त्यस्तै महिला उपाध्यक्ष, १ जना महिला सचिव, १ महिला सहकोषाध्यक्ष, ६ क्षेत्रमा एक/ एक जना महिला संयोजक, महिला उपसंयोजक रहने व्यवस्था गरिने शर्माले बताए ।

मनोनित एनआरएनए आईसीसी सदस्यमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको पनि शर्माले बताए ।

एनआरएनएको राष्ट्रिय समन्वय परिषद (एनसीसी) ले अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को निर्वाचनका लागि ५ प्रतिशत विज्ञ र विशेषज्ञ चयन गर्नुपर्ने व्यवस्था पनि विशेष महाधिवेशनबाट गरिने महासचिव शर्माले बताए ।

एनसीसीबाट चयन हुन छुटेका विज्ञ र विशेषज्ञहरुलाई आईसीसी अध्यक्षले प्रतिनिधिमा छनोट गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । ‘मनोतित आईसीसी सदस्यमध्ये ३३ प्रतिशत विज्ञ र विशेषज्ञबाट चयन हुने व्यवस्था गरिएको छ’ उनले भनेका छन् ।

शर्माले आईसीसीको नेतृत्व चयन गर्ने प्रतिनिधिहरुको छनोट प्रक्रियालाई वैज्ञानिक र पारदर्शी बनाइने बताएका छन् । ‘एनसीसी र आईसीसीमा एक कार्यकाल काम गरेका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्राथमिकताको आधारमा प्रतिनिधिको चयन गर्ने व्यवस्था गरिएको छ । एनसीसीले पठाउने प्रतिनिधिहरु अब निर्वाचित भएर जानुपर्नेछ । विज्ञ, विशेषज्ञ र शुभेच्छुकलाई १० प्रतिशत कोटा छुट्याइएको छ’ उनले भनेका छन् ।