नेपालको प्रहरी रिपोर्ट स्पेनमा प्रमाणीकरण गर्नुपर्ने झन्झट हट्यो 


बार्सिलोना।नेपाल प्रहरीले दिने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) स्पेनमा प्रमाणिकरण गर्नुपर्ने झन्झट अबदेखि हटेको छ।रेसिडेन्सी कार्ड तथा वर्क पर्मिटको लागि मात्र उक्त झन्झट हटेको हो।तर यस बाहेक अन्य कार्यका लागि भने प्रहरी प्रतिवेदन पुरानै तरिकाबाट प्रमाणिकरण गर्नुपर्ने नेपाली राजदूताबास म्याड्रिडले जनाएको छ।

नेपाल प्रहरीले दिने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) स्पेनको परराष्ट्र मन्त्रालयको निकायबाट अनिवार्य रुपमा प्रमाणिकरण गर्नुपर्ने ब्यबस्था रहदै आएको थियो। नेपाली राजदूताबास म्याड्रिडले बुधबार सूचना जारी गर्दै सम्बन्धित निकायसँगको समन्वय र छलफलबाट नयाँ ब्यबस्था लागु गरिएको जनाएको छ।

 ‘हाल स्पेनमा रहनुभएका नेपालीहरुले प्रहरी प्रतिवेदन म्याड्रिड स्थित स्पेनको परराष्ट्र मन्त्रालयको निकायबाट लिगलाइज गर्नुपर्ने ब्यबस्था रहेकोमा,अब उपरान्त रेसिडेन्सी तथा वर्क  पर्मिटका लागि चाहिने प्रतिवेदन लिगलाईजेसन नगराई सिधैं सम्बन्धित निकायमा पेश गर्न पाउने ब्यबस्था भएको जानकारी गराउछौ। सो प्रयोजनको लागि निबेदक आँफैले अनलाईनबाट क्युआर कोड सहितको प्रहरी प्रतिवेदन रंगिन प्रिन्ट गरी सम्बन्धित निकायममा तोकिएबमोजिम पेश गर्न सक्नुहुनेछ।’ दूताबासको सूचनामा उल्लेख गरिएको छ। 

दूताबासले कागजातहरु संकलन गरी प्रत्येक सोमबार(बिदाको दिन बाहेक) मन्त्रालयको निकायमा प्रमाणिकरण गर्न सहजीकरण गर्दै आएको थियो। रेसिडेन्सी कार्ड तथा वर्क पर्मिट बाहेक अन्य कार्यका लागि  पुरानै नियम भएकाले सहजीकरणलाई निरन्तरता दिने दूताबासले जनाएको छ।