एनआरएनएको विशेष महाधिवेशन सम्पन्न 


लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रिय महाधिवेशन दुई बुंदे प्रस्ताव पारित गर्दै आइतबार सकिएको छ ।जनवरी २३ र २४ मा  भर्चुअल रुपमा सम्पन्न महाधिवेशले  संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेम राज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।ती प्रस्तावहरु सर्वसम्मतिले पारित भएका हुन् ।

कोषाध्यक्ष महेश श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनको लागि गोबा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

त्यस्तै, विशेष महाधिवेशनमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्ताव व्यापक छलफल पछि सर्वसम्मतिले अनुमोदन गरेको थियो । शनिबार महाधिवेशनको उद्घाटन  परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरेका थिए । उनले कोरोना महामारीको बेला संघले नेपाली जनतालाई पुराएको सहयोगको प्रशंसा गर्दै संस्थाभित्र एकता कायम गर्न सुझाव दिएका थिए।

तर विशेष महाधिवेशनको समापन समारोहमा केहि  विवाद देखिएको थियो।  अन्ततः प्रवक्ता डी बी क्षेत्रीले दुई बुंदे घोषणापत्र पढेर  सुनाएका थिए। संघका अध्यक्ष पन्तले घोषणापत्रलाई अन्तिम रुप दिन आइइएस बैठक चलिरहेको अवस्थामा असन्तुष्ट पक्षका सुझाव तथा धारणा धैर्यतापूर्वक सुनेका थिए ।