म्यान्मार सैन्य कू: एक वर्षको लागि सङ्कटकाल घोषणा


काठमाडौँ — म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो।

सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ । सेनाप्रमुख ह्लाइङ २०७४ साल मंसिरमा नेपालको चारदिने औपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका थिए । भ्रमणका क्रममा उनी लुम्बिनी पुग्नुका साथै माउन्टेन फ्लाइटमा पनि गएका थिए ।सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो।

गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो।सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ।सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । तर म्यानमारको निर्वाचन आयोगले भने सेनाको दाबीको खण्डन आधारहीन भएको बताएको छ । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको थियो ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । सन् २००८ को संविधानअनुसार म्यानमारको संसद्मा सेनालाई २५ प्रतिशत सिट छुट्याइएको छ । सु की प्रशासनमै पनि सेनाले तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको थियो ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो । 

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुन:स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।