स्पेनका ८२ बर्षे कार्लोसको बिश्वका सबै उच्च शिखर आरोहण गर्ने लक्ष्य


COURTESY OF CARLOS SORIA

बार्सिलोना । स्पेनका पर्वतारोही कार्लोस सोरिया अहिले ८२ बर्षका भए । म्याड्रिड नजिकै पेनेलारामा उनी हिजोआज पनि हिमाल आरोहणका लागि अभ्यास गरिरहेका हुन्छन् ।

उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘जिन्दगीका हरेक कुराहरु मैले कठिनताका साथ पाएँ । एकदमै चकचके बच्चा थिएँ । जे चाहना राख्थेँ त्यही पाउन खोज्थेँ । मैले चाहेको कुरा पर्वत नै थियो सायद, त्यही प्राप्त गरेँ । त्यसैले विश्वका उच्च शिखरहरु चढ्न सफल भएँ’ उनले भने ।

गरिव परिवारमा जन्मिएका उनले १४ बर्षको उमेरमा नै पर्वतलाई चिने । अहिले पनि कार्लोसको जोश, आँट र अठोट भने उस्तै छ । हिमालयमा टेकेपछि उनलाई आफू कहिल्यै बूढो जस्तो लाग्दैन । उनी अनुभवी आरोही हुन् जो अझै सक्रिय छन् ।

त्यसैले अहिलेसम्म पनि हिमाललाई चिन्न छोडेका छैनन् । उनले आउँदो अप्रिल ५ मा नेपालको धौलागिरी हिमाल आरोहण गर्ने अठोट लिएका छन् । गत वर्षनै धौलागिरी पुग्ने उनको योजनामा कोरोना भाइरस महामारी बाधक बन्यो ।

सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना छ । उक्त कीर्तिमान राख्न अब उनले धौलागिरी र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

त्यसो त उनलाई धौलागिरी हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास थियो । दुई दशकयता १० औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटर माथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त छन् ।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।

दुई वर्षअघि उनको घुँडाको शल्यक्रिया भयो । तर त्यसपछि पनि उनी हिमाल चढ्न छाडेनन् । शारीरिक र मानसिक रुपमा आफू हिमाल चढ्न सक्षम रहेको कार्लोस बताउँछन् । ‘मलाई अहिलेसम्म उद्धार गर्नुपरेको छैन । आफ्नै भरमा उचाइमा पुगेँ र आफैं फर्किएँ । दुनियाँको सबै बल प्रयोग गरेर फेरि एकपटक प्रयास गर्न चाहन्छु’ उनी भन्छन् ।

युरोप नेपाल चेम्बर्स अफ कमर्स फर टुरिजमले ( ईएनसीसीटी) आयोजनामा शनिबार कार्लोससँग भर्चुअल संवाद आयोजना गरेको थियो । ‘म अहिले ८२ बर्षको भएँ ।

कोभिड महामारीमा यो जोखिमपूर्ण उमेर समूह हो । महामारीमा यो उमेर समूहका धेरैले ज्यान गुमाए । बाँकी दुई शिखरमा पुग्दा महामारीबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्न चाहन्छु’ कार्यक्रममा कार्लोसले भने ।

महामारीको यो बेलामा वृद्ध उमेरका मानिसलाई खतरा हुने भन्दै कतिपयले उनलाई कार्यक्रम स्थगित गर्न सुझाव दिएका छन् । तर ६८ बर्ष आरोहणमा नै बिताएकोले आफू नरोकिने उनी बताउँछन् । ‘दुनियाँले थाहा पाओस् कि यो उमेर समूहमा पनि धेरै साहसी काम गर्न सकिन्छ । जोश, आँट र अठोट भएमा सपना पूरा गर्न सकिन्छ’ उनले भने ।

COURTESY OF CARLOS SORIA

हिमाल चढ्नजस्तै उनलाई खर्च जुटाउन पनि उत्तिकै चुनौती छ । अहिले उनि प्रायोजकलाई सहयोगको अपिल गरिरहेका छन् । तर कार्लोस भन्छन्, ‘प्रायोजक मिलोस् वा नमिलोस् तर धौलागिरी हिमाल चढ्नेछु । प्रायोजक बिना जानु पर्‍यो भने मैले दुख पाउनेछु । तर पनि ती मानिसहरुका लागि सम्मान प्रकट गरेर नै छाड्ने छु । अप्रिल ५ मा म एक्लै जान चाहन्न । मेरा दुई साथीहरु सितो र लुईससँगै जान चाहन्छु । आशा गर्छु कि हामी तिनैजना जान पाउनेछौं ।’

धौलागिरीको आहारोणपछि तिब्बतको सीसापाङ्मा हिमाल चढ्ने उनको योजनामा रहेको छ । यी दुवै हिमाल आरोहण गरेमा उनको सपना पूरा हुनेछ । उनी विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन्।

नेपाल मेरो दोस्रो घर

नेपाल आफ्नो दोस्रो घर भएको उनले बताए । ‘नेपाल स्वर्गको टुक्रा नै हो । काठमाडौं मात्र पुगेर हुँदैन । त्यो भन्दा बाहिर पनि पुगियो भनेमात्र नेपाल चिन्न सकिन्छ’ उनले भने । हिमाल आरोहणको आफ्नो अनुभव सुनाउँदै कार्लोसले हिमाल सफा राख्न नेपाल सरकारलाई सुझाव समेत दिए ।

उनले नेपाल र नेपालीहरुको सहयोगी भावनाको खुलेर प्रंशसा समेत गरे । नेपालमा हिमाल चढ्नका लागि अहिले सजिलो हुँदै गएको पनि कार्लोसले सुनाए ।

COURTESY OF CARLOS SORIA

‘शेर्पाहरु धेरै अनुभवी र सहयोगी छन् । हिउँद याममा केटुजस्तो कठिन पर्वतारोहण सम्पन्न गर्ने नेपाली शेर्पाको साहस र बहादुरीको म प्रशंसा गर्छु । नेपाली आरोही टिमलाई बधाइ दिन चाहान्छु´ उनले भने ।

ईएनसीसीटीको सक्रियता :-

युरोप नेपाल चेम्बर्स अफ कमर्स फर टुरिजम ( ईएनसीसीटी)  ले नेपालको पर्यटन प्रवद्वनका लागि सक्रियता देखाएको छ।कोभिड महामारीपछि सामान्य अवस्थामा फर्कदै गएको नेपालमा हिमाल आरोहणका लागि पर्यटकहरुले लक्ष्य लिईरहेका बेला ईएनसीसीटीले पर्वतारोही कार्लोस सोरियासँग भर्चुअल संवाद गरेको हो।

ईएनसीसीटीका नेटर्वकिङ एण्ड पब्लिक रिलेशन डाइरेक्टर एकराज गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए। स्पेनका पर्वतारोहीहरुले नेपालको थुप्रै उच्च शिखर चुमेकोमा प्रंशसा गर्दै उनले कार्लोसलाई धौलागिरीको सफल आरोहणका लागि शुभकामाना ब्यक्त गरे। 

कार्यक्रममा युरोप नेपाल चेम्वर अफ कर्मस फर टुरिजमका अध्यक्ष दिपेश शाक्यले पनि पर्वतारोही सोरियाको नेपाल अनुभूतिबारे चासो राखेका थिए।