गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, पौडेल र यादव नयाँ प्रमुख नियुक्त


काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

शेरचन र त्रिपाठी यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

नवनियुक्त यादव राप्रपा नेपालबाट समानुपातिक सांसद बनेर २०७२ सालमा उपसभामुख भएका थिए । उनी २०७४ सालका चुनाव अगाडि राप्रपा छोडेर एमालेमा प्रवेश गरेका थिए ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । नवनियुक्त प्रदेश प्रमुखको सोमबार नै राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।