देशभर मकर संक्रान्ति मनाइँदै


काठमाडौं/

माघे संक्रान्ति देशभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदैछ । आजको दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

मकर संक्रान्तिको अवसरमा परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला भएर अघिल्लो दिन पकाइएका तरुल, सेलरोटी, चाकु, लड्डुलगायतका परिकार सँगै बसेर खाएर रमाइलो गर्ने परम्परा रहेको छ ।

माघे संक्रान्तिको अवसरमा तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दीयाको ठाकुरद्धारालगायतका स्थानमा बिहानै गएर स्नान गर्नेको घुइचो लागेको छ ।

त्यस्तै थारु, मगर समुदायले नयाँ वर्षको रुपमा माघी पर्व मनाउने गरेका छन् । विशेष गरी पश्चिम तराइका दाङ, बाँके, बर्दीया, कैलालीका क्षेत्रमा माघीको निक्कै रौनक हुने गरेको छ ।